
काठमाडौ (पालिका हब) इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा टुंगिएको छ। गएराति लिभरपुलसँग उसकै घरेलु मैदानमा १–० ले पराजित भएसँगै १० खेलमा सिटीले पहिलो हार व्यहोरेको हो लिभरपुलको जितमा मोहम्मद सलाहले निर्णायक गोल गरे।पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७६ औं मिनेटमा सलाहले गोल गरेका थिए। एनफिल्डमा आइतबार राति ६३ प्रतिशत बल पोजिशन राखे पनि गोल गर्न नसक्दा सिटीले हार व्यहोर्यो। खेलको ५३ औं मिनेटमा सिटीका फिल फोडेनले गोल गरे पनि भिएआरबाट मान्यता नपाउँदा सिटीले अग्रता लिने मौका गुमाएको थियो। खेलको ८६ औं मिनेटमा लिभरपुलका योर्गेन क्लोप रातो कार्ड खाँदै बाहिरिए पनि त्यसको फाइदा सिटीले लिन सकेन।
यो जितसँगै लिभरपुल ९ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ। पराजित सिटीले शीर्षस्थानमा आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ।दोस्रो स्थानमा यथावत रहेको सिटीको १० खेलबाट २३ अंक छ। समान खेलबाट २३ अंक नै रहे पनि टोटेनहम गोल अन्तरमा तेस्रोमा छ। यस्तै १० खेलबाट २७ अंक जोडेको आर्सनल शीर्ष स्थानमा कायमै छ।
Discussion about this post